साउदीमा अलपत्र ११ नेपाली फर्किए, ३२ जना उद्दारको पर्खाइमा

२ साउन,काठमाण्डौ ।
रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र ४३ नेपाली मध्य ११ जना आज (सोमबार) नेपाल फर्किएका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलाललाई मोटो रकम दिएर रोजगारीका लागि उनीहरू साउदी अरब पुगेर अलपत्र परेका थिए । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालिमार्फत ६-७ महिनाअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदार सम्झौता अनुसारको काम र तलब नपाएपछि विगत लामो समयदेखि उद्दारको पर्खाइमा थिए ।

ब्लु ग्यालेक्सीले पठाएका धेरै नेपाली मध्ये २५ जनाले काम पाएको र बाँकी ४३ जना अलपत्र परेको पीडितहरूले बताएका थिए । अलपत्र ४३ मध्ये २६ जना साउदीको जेद्धामा र १७ जना दम्माममा अलपत्र परेका थिए । यसपटक दम्माममा अलपत्र १७ मध्ये ११ जनालाई साउदीबाट दुबई हुँदै नेपाल पठाइएको बिनोद दहालले जानकारी दिए ।

‘११ जनालाई म्यानपावरले सोमबार फर्कायो, अझै धेरै साथीहरू उद्दारको पर्खाइमा हुनुहुन्छ,’ उनले भने, ‘अब केहिदिन भित्रमै सबै साथीहरुलाई फर्काउने जवाफ म्यानपावरका सञ्चालक हिमहरी अर्यालले दिएका छन् ।’

जेद्धा र दम्माम अलपत्र परेका नेपालीहरूलाई ब्लु ग्यालेक्सी सञ्चालक अर्यालले कोठा भाडामा लिएर राखेको भए पनि पछिल्लो समय भाडा नतिरेपछि उनीहरूलाई होटेल सञ्चालकले कोठाबाट निकाली दिएको छ । हाल उनीहरूले भोक भोकै सडकमा बस्न बाध्य भएको बताएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।