२९ असार,काठमाण्डौ ।
विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित भइसकेको छ। नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्थ्यो तर त्यो पूरा हुन सकेन। पराजित भएसँगै नेपालले तालिकाको चौथो स्थानमा रहेको अमेरिकासँगको अंक–दूरी घटाउने मौका पनि गुमायो।
पाँचौं स्थानमा रहेको नेपाल नामिबियासँगको पराजयसँगै तालिकाको छैटौं स्थानमा झरेको छ। नेपालले अब दोस्रो खेल जुलाई १७ मा स्कटल्यान्डसँग खेल्दै छ।
फितलो ब्याटिङ
विगतझैं अहिले पनि नेपाली टिममा ब्याटिङ लाइन चल्न सकिरहेको छैन। क्यानडा भ्रमणमा पनि क्यानडाविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान चल्न सकेका थिएनन्। ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेलले राम्रोसँग ओपनिङको भूमिका वहन गर्न सकिरहेका छैनन्। ओपनर क्रिजमा टिकेर खेल्ने हो भने टिममा रनको कुनै कमी आउँदैन। तर ओपनर क्रिजमा टिकेर खेल्न सकिरहेका छैनन्। ओपनिङ क्रमबाटै चुक्ने नेपाली टिममा त्यसपछिका अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकिरहेका छैनन्। टिमलाई चाहिएको अवस्थामा उच्च प्रदर्शन गर्दै आएका आरिफ शेख मात्रै आफ्नो लयलाई निरन्तता दिन सफल भइरहेका छन्।
नेपाली टिममा ब्याटिङ लाइन चल्न सकिरहेको छैन। ओपनिङ क्रमबाटै चुक्ने नेपाली टिममा त्यसपछिका अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकिरहेका छैनन्। उनले पहिलो खेलमा नामिबियाविरुद्ध अर्धशतक बनाएका थिए। यो उनको ओडीआई क्रिकेटमा चौथो अर्धशतकसमेत हो। टिममा उदाउँदै गरेका देव खनाल अहिले नेपालका लागि आशलाग्दा खेलाडी हुन्। तर स्कटल्यान्डमा भने उनले खासै राम्रो खेल्न सकिरहेका छैनन्।
रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी पनि अहिले राम्रो लयमा देखिएका छैनन्। नेपालको पहिलो खेलमा रोहित शून्य र दीपेन्द्र ४ रनमा आउट भएका थिए। दीपेन्द्रले पछिल्लो समय खराब प्रदर्शन गरिरहेका छन्। पछिल्ला केही खेलमा नेपालले ओडीआई क्रिकेटमा २०० रनको आँकडा पार गर्नलाई धेरै संघर्ष गरिरहेको छ। क्यानडा भ्रमणमा रहँदा क्यानडाविरुद्धको दुई एकदिवसिय खेलमा पहिलो खेल वर्षाले रद्द भएपछिको दोस्रो खेलमा क्यानडाले दिएको १८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य पनि पूरा गर्न सकेन। त्यस्तै, सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध पनि नेपालले २२१ रनको लक्ष्य पछ्याउने क्रममा १८० रनमै सीमित हुँदै ४० रनको पराजय बेहोरेको थियो।
बलिङमा बलियो
नेपाली टोलीको सबैभन्दा राम्रो पक्ष भनेको बलिङ हो। कप्तान सन्दीप लामिछानेदेखि सोमपाल कामी, करण केसी तथा अन्य बलरले नेपालको बलिङलाई सम्हालिरहेका छन्। पछिल्ला धेरै खेलदेखि नै नेपाली टिम बलिङमा अब्बल देखिन्छ। पहिलो खेलमा पनि नामिबियाविरुद्ध नेपाली बलर हाबी भएका थिए। यसले गर्दा नामिबियाले नेपाललाई मध्यम लक्ष्य मात्रै दिएको थियो। कप्तान सन्दीपले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिएका थिए। सोमपालले ७ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए। त्यस्तै, करण केसी, बसिर अहमद र दीपेन्द्रले १–१ विकेट लिएका थिए। स्कटल्यान्डविरुद्धको खेलमा पनि बलरले पुरानै लयको प्रदर्शन गर्न सके नेपाललाई खेल जित्न धेरै सहज हुनेछ।
स्कटल्यान्डविरुद्धको खेललाई लिएर नेपाली कप्तान सन्दीपले भनेका छन्, ‘हामीले जसरी नामिबियाविरुद्ध खेल्यौं, यसरी नै हाम्रो बलिङलाई निरन्तरता दिनेछौं। अनुशासित भएर फिल्डिङ गर्नेछौँ। टिममा मुख्य सुधार गर्नुपर्ने पक्ष भनेको ब्याटिङ हो। तर अझै त्यस्ता धेरै ठाउँ छन्, जहाँ अझै सुधार गरेर राम्रो ब्याटिङ गर्न सक्छौं। आउँदा दिनमा सक्नेसम्म सुधार गर्नेछौं। हामीले अहिले परिस्थितिअनुसार खेल्न सकिरहेका छैनौँ। हामी यसलाई स्कटल्यान्डविरुद्धको खेलमा सुधार गर्नेछौँ।’
नामिबियासँगको पराजयसँगै नेपाल तालिकाको छैटौं स्थानमा झरेको छ। जुलाई १७ मा स्कटल्यान्डसँग हुने दोस्रो खेलमा नेपालको क्रिकेट टिमले ब्याटिङ सुधार्नुपर्ने अवस्था छ। घरेलु टोली स्कटल्यान्ड त्रिकोणात्मक सिरिजकै बलियो टिम हो। उसले आफ्नै पिचको फाइदा पनि लिनेछ। एसोसिएट क्रिकेटमा स्कटल्यान्ड बलियो टोली हो। सिरिजको पहिलो खेलमा नामिबियालाई स्कटल्यान्डले ७७ रनले पराजित गरेको थियो।
यो जितसँगै स्कटल्यान्डले तालिकामा आफ्नो अंक–दूरी बनाउन सफल भएको छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २१ खेलमा ३० अंक रहेको छ। तेस्रो स्थानमा रहेको युएईसँग उसले अंक–दूरी ४ मा पुर्याएको छ। लिगमा स्कटल्यान्डले अहिलेसम्म ५ खेलमा मात्र हार बेहोरेको छ। सुरुआतदेखि नै लिगमा राम्रो प्रदर्शन गर्दै आएको स्कटल्यान्ड तालिकाको शीर्ष ३ मा रहने सम्भावना उच्च छ। तीव्र गतिका बलर सफ्यान शरिफ, जर्ज मुन्सेजस्ता खेलाडी नेपालका लागि हाबी बन्न सक्छन्।
नेपाली टोली क्यानडा भ्रमण जानुअघि विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि अमेरिका भ्रमणमा गएको थियो। त्रिदेशीय सिरिजमा नेपालले अमेरिका र ओमानसँग खेलेको थियो। त्यहाँ नेपालले एक खेलमा बराबरी र जित निकाल्यो भने बाँकी दुई खेलमा पराजित हुन पुग्यो।
नेपाली टिम
कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी।








