छानबिनको घेरामा ६ न्यायाधीश, दुई करोड मोलमोलाइदेखि बलात्कारपीडितलाई सजायसम्मको आरोप

१७ असार,काठमाण्डौ ।
जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषद्को छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाइ गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि अपहरण र बलात्कारपीडितलाई नै सजाय सुनाउने न्यायाधीशसम्म छन् । सबुद प्रमाण बलियो हुदाँहुँदै स्वविवेकी अधिकार प्रयोग गर्दै पीडितलाई अन्याय हुनेगरी फैसला गर्ने न्यायाधीश छानबिनका लागि तानिएका छन् । विवादमा तानिने न्यायाधीशमा व्यवसायी इच्छाराज तामाङको मुद्दामा २ करोड ‘अडियो डिल’ गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला, काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौला, रामेछाप जिल्ला अदालतका तत्कालीन न्यायाधीश बद्रीप्रसाद वली, न्यायाधीश सूर्यकुमार अधिकारी र नवीन जोशी छन् ।

उनीहरूमाथि न्यायपरिषद्ले सूक्ष्म छानबिन सुरु गरिसकेको छ । पछिल्लोपटक विवादित फैसला गर्नेमा जुम्ला जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहलाई सर्वोच्च तानेको छ ।
न्याय परिषद्बाट कारबाही भोगेर जुम्ला पुगेका न्यायाधीश सिंह पुनः विवादित भएपछि जिम्मेवारीविहीन बनाउँदै सर्वोच्चमा तानिएको हो । आगामी ८ साउनमा ६३ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका सिंहमाथि बिदामा नबसी बहुविवाहसम्बधी मुद्दामा आर्थिक चलखेल गरेर विवादित फैसला गरेको आरोप लागेको छ । राजधानी दैनिकबाट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।