साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन गर्न आयोग सकरात्मक

८ असार,काठमाण्डौ ।
निर्वाचन आयोगले आउँदो साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन थाल्ने भएको छ । विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने विषयमा निर्वाचन आयोग सकारात्मक भएको हो ।नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार आयोगको ध्यानाकर्षण गराएपछि आयोगले आउँदो साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन थाल्ने प्रतिबद्धता जनाएको हो । सर्वोच्च अदालतले विदेशमा रहने नागरिकको पनि मताधिकार सुनिश्चित गर्ने गरी आदेश दिए पनि कार्यान्वयनमा नआएकोप्रति काँग्रेस महामन्त्रीद्वयले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको हो ।

भेटमा प्रमुख निर्वाचन आयुक्तले ‘निर्वाचन कानुन अन्तिम चरणमा प्गिसकेको बताउदै राजनीतिक दलहरूका बीचमा समझदारी कायम गराउने विषयमा अग्रसरता लिइदिन महामन्त्रीद्वयसँग आग्रह गर्नुभएको थियो । राजनीतिक दलहरुबीच समझदारी कायम भएपछि प्रक्रिया प्रारम्भ हुने उहाँले बताउनुभयो ।

विदेशमा रहेका नेपाली नागरिकलाई भोट हाल्न दिने अधिकारका लागि कानुन आवश्यक भए पनि मतदाता नामावली संकलन भने विदेशमै गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको महामन्त्री थापाले बताउनुभयो । विदेशमै मतदाता नामावली संकलन गर्न सके निर्वाचनको समयमा आउन पाउनेहरूले मतदानको अधिकारबाट वञ्चित हुन नपर्ने उहाँले जिकिर गर्नुभयो ।

नेपालको प्रचलित कानुनानुसार पनि मिल्ने भएकोले विदेशबाटै मतदाता नामावली संकलनमा आयोग सकारात्मक भएको उहाँको भनाइ छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।