गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान

२८ बैशाख, भैरहवा ।
निर्माण सम्पन्न भइ उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तर्राष्ट्रिय विमानले अवतरण र उडान गरेको छ । भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीका सामान लिएर भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।२ जेठमा (बुद्ध जयन्ती)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्न लागेकाले उनकै सुरक्षामा आवश्यक सामग्री लिएर आज विमान आएको हो । विमानमा करिब चार दर्जन स्पेशल प्रोटेक्सन गार्ड (एसपिजी)का अधिकारी, चार वटा बुलेट प्रुफ गाडी, सुरक्षाका सामाग्री दिल्लीबाट सिधैँ भैरहवा आएको हो । यो नै पहिलो अवतरण र उडान गर्ने अन्तर्राष्ट्रिय विमान भएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

यो चार्टड विमान कुटनीतिक उडान हो, मोदीले प्रयोग गर्ने गाडी र सामानसहित आएको विमान अढाइ घन्टापछि फर्केको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी २ जेठदेखि व्यवसायिक उडान गरी उद्घाटन हुँदैछ । कुवेतको जजिरा एयरलायन्सले यहाँबाट व्यवसायिक उडान गर्न अनुमति पाइसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।