प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती पावर सब-स्टेसनको उद्घाटन

५ चैत्र,काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार खिम्ती पावर सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गर्नु भएको हो । खिम्ती सब–स्टेसन २ सय २० र १ सय ३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो ।स्वदेशी लगानीमा निर्माण गरिएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २ सय २० केभी प्रसारण लाइन र १ सय ३२ केभीको सब–स्टेसन निर्माणको काम पूरा भएको हो ।

सब–स्टेसनले गोंगरबाट आएको २ सय २० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ । न्यू खिम्ती सब–स्टेशनमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ ।

५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । यस अघि आजै प्रधानमन्त्री देउवाले दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गर्नुभएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।