११२औँ अन्तराष्ट्रिय महिला दिवस आज

२४ फाल्गुन,काठमाण्डौ ।
आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइदैछ । महिला दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ ।नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

नेपालको संविधानले पनि महिलाउपर हुने सबै खाले भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।

राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ । महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ । यद्यपि नेपालको संविधानले प्रत्याभुत गरेको सबै महिला हक अधिकारको कार्यान्यन पूर्णरुपमा भने हुन सकेको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।