विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सलाई पराजित गर्दै नेपालको विशाल जित

७ फाल्गुन,काठमाण्डौ ।
कुशल भुर्तेलको शतकमा आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल जित निकालेको छ। शनिबार सम्पन्न खेलमा नेपालले दिएको २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिएको हो। योसँगै नेपालले जारी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो। नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले अविजित रहँदै सर्वाधिक २७ रनको योगदान दिए। उनले ३२ बलमा २ चौका प्रहार गरे। यता, ड्यानियल स्मीथले २० रन बनाउँदा कप्तान जोनाथन हिलले ११, मिग्गी पोडोस्के ९ र कपिल कुमारले ४ रन जोडे।

जोनाथनलाई अविनाश बोहराले आरिफ शेखबाट क्याच आउट गराएका थिए। त्यसअघि फिलिपिन्सका कपिल कुमारलाई दोस्रो ओभरको तेस्रो बलमा जितेन्द्र मुखियाले ४ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका थिए।यता, नवौं ओभरमा सन्दीपले दुई विकेट लिए। नवौं ओभरको पहिलो बलमा स्मिथलाई आसिफ शेखबाट २० रनमा स्टम्पिङ आउट गराए।

उनले २७ बलमा २ चौका प्रहार गरे। त्यसै ओभरको अन्तिम बलमा सन्दीपले ह्यारी टेलरलाई १ रनमा बोल्ड आउट गरे। ११औं ओभरको दोस्रो बलमा सन्दीपले रिचार्ड गुडविनलाई आसिफ शेखबाट शून्यमा स्टम्पिङ आउट गराए।नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका सन्दीपले ९ रन खर्चिए। यता, गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले एक–एक विकेट लिए।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड– २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको थियो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।