गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान

६ फाल्गुन, रुपन्देही ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज हिजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिनुभयो ।क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उहाँको भनाइ छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । क्यालिब्रेसन उडान आजदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक सात घण्टाको उडान हुनेछ । उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि भने व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गरिएको बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताउनुभयो । उहाँले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि सामरिक महत्वको परियोजना भएको बताउनुभयो । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन ।

काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अहिलेको अवस्थामा करिब २० लाखमात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ । कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुने थियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको थियो । तर प्राधिकरणको निरन्तरताको ताकेताले विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।