१३ मंसिर,चितवन ।
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा जारी छ । आगामी नेतृत्व सर्वसम्मतबाट आउने कि चुनावबाट भन्नेमा अझै अन्यौलपूर्ण छ । आज आइतबार निर्वाचन हुने भनिएकोमा अझै पनि त्यसको टुंगो लागेको छैन । आइतबार दिनभरजसो एमाले अध्यक्ष केपी ओलीको पर्खाइमा महाधिवेशन प्रतिनिधि रहे ।
साँझपख भने एमालेको महाधिवेशन स्थलमा गैंडा प्रबेस गरेको छ । ओली बसेको होटल पार्क सफरको गेट अगाडि नै गैंडा आएपछि बन्द सत्रका लागि सौराहा पुगेका प्रतिनिधिलाई गैंडाको फोटो र भिडियो खिच्न भ्याइनभ्याई भएको थियो ।एमालेले महाधिवेशनको लोगोमै गैंडाको मस्कट राखिएको छ ।
महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु आएका छन् । प्रत्यक्ष रुपमा गैंडा नदेखेका प्रतिनिधिहरुले पनि प्रत्यक्ष रुपमा गैंडा देख्न पाउँदा उनीहरु खुसी देखिए । तर सौराहामा यसरी आवास क्षेत्रमै गैंडा निस्किनु सामान्य बिषय हो ।महाधिवेशनको बन्द सत्र होटल सेभेन स्टारमा हुँदै छ । आइतबार साँझ महाधिवेशनस्थलमा निस्किएको गैंडाको नाम मेघौली हो ।
यो गैंडा चितवन राष्ट्रिय निकुञ्जले २०७४ सालमा मेघौलीबाट उद्धार गरेको हो ।बाढीमा फसेको गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखियो । गैंडाको न्वारन गरेर मेघौली नाम राखिएको हो । मेघौलीलाई तीन वर्षअघि नै प्रकृतिमा छाडिएको हो । मानिससँग घुलमिल भइरहेको मेघौली प्राय सौराहाका सडकमा आइराख्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछाने बताउँछन् ।







