२९ भाद्र, काठमाडौं ।
बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले माग गरेका छन् । भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका हुन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा उपलब्ध गराए दुईपक्षिय व्यापारमा गुणात्मक वृद्दि हुने बताए ।
महासङ्घले मंगलबार राजधानी स्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ‘बेलायत भिसा र अध्यागमन’ विषयक भर्चुअल अन्तरक्रियामा ढकालले सो कुरा बताएका हुन् ।
बेलायती भिसा हाल नेपालबाट प्रत्यक्ष उपलब्ध छैन, जसका कारण यहाँका भिसा आवेदकहरुले धेरै कठिनाइ र समस्याको सामना गर्नु परिरहेको छ,उनले थपे । नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।







