८ असार,काठमाण्डौ ।
नेपाल वायुसेवा निगममा साढे ४ करोड अनियमितता भएको पाइएको छ। निगमले अन्तर्राष्ट्रिय उडानको क्रममा विदेशको गन्तव्यमा पुग्ने क्रु मेम्बर अर्थात् पाइलट, इन्जिनियर र एयर होस्टेसलाई होटल सुविधा उपलब्ध गराउँदै आएको छ। निगमले मलेसिया उडान भर्दा क्रु मेम्बरका लागि सेरि प्यासिफिक होटलसँग सम्झौता गरेको थियो।
सोही सम्झौतामा अनियमितता भएको हो। होटल छनोट गर्दा प्रतिस्पर्धाको आधारमा कम कबोल गर्नेसँग सम्झौता गर्नुपर्ने र खरिद सम्झौतामा निगमका अपरेसन विभाग प्रमुखले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ। तर निगमका पाइलट सुवास रिजालले अप्रेसन विभागको निर्देशक रहँदा सुरु गरेको खरिद प्रक्रिया ‘रिक्वेस्ट फर प्रपोजल’ (आरएफपी) विपरीत उक्त जिम्मेवारीबाट हटेपछि पनि सम्झौता भएको देखिन्छ।
रिजालले नियमविपरीत मलेसियामा क्रु मेम्बरलाई होटलमा राख्न सेरि प्यासिफिक होटलसँग सम्झौता गरी अनियमितता गरेको तथ्यले देखाएको छ। आरएफपी विपरीत उनीहरुले होटल खर्च र यातायात खर्च छुट्टाछुट्टै बुझाउने गरी सम्झौता गरिएको समेत पाइएको छ।नियमविपरीत सम्झौता गरी होटल खर्चबापत ३ करोड ५२ लाख र यातायात खर्च १ करोड १३ लाख गरी कूल ४ करोड ६६ लाख रुपैयाँ आर्थिक अनियमितता गरेको देखिन्छ।
अख्तियारले २०७६ असार २७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र राय माग गरी पत्र पठाएको थियो। मन्त्रालयले नेपाल वायुसेवा निगमलाई ०७६ साउन ५ गते उक्त सम्बन्धमा राय प्रतिक्रिया उपलब्ध गराउन पत्र काटेको थियो।







