म्याग्दी, ३ असार । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताउनुभयो ।
“तटबन्ध भत्काएर बजारतर्फ कटान शुरु गरेको छ”, उहाँले भन्नुभयो, “तत्काल नियन्त्रण नगरे बर्खामा बेनी बजारमा थप क्षति हुन्छ ।” रुपाताल एकीकृत विकास संरक्षण परियोजनामार्फत बेनी बजार संरक्षणका लागि कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की तथा ग्यावियन पर्खाल निर्माण हुँदै आएको छ ।
तटबन्ध भत्किएपछि कालीगण्डकीको भँगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो ।
बाढी, पहिरो र कटानबाट प्रभावित १०० भन्दा बढी परिवार विस्थापित भएका छन् । नदी कटान, पहिरो र बाढीले घर भत्काएका, बगाएका र जोखिममा परेका जिल्लाका ८३ घर परिवारका ३४० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको विवरणमा समावेश नभएकासहित जिल्लाभर विस्थापित हुनेको परिवार सङ्ख्या १०० भन्दा बढी छ ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जिल्लाका सबै स्थानीय तह मनसुनजन्य प्रकोपबाट प्रभावित भएको र सडक यातायात ठप्प बनेको बताउनुभयो । प्रहरीका अनुसार बेनी नगरपालिकाको बगरफाँट, सिंगा तातोपानी र घतानमा ४६ घरका १७९ जना विस्थापित भएका छन् ।
मङ्गला गाउँपालिकाको हाँडेभिरको एक घरका पाँच, मालिका गाउँपालिकाको वडा नं १, ४ र ६ को २० घरका ८५, अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का १० घरको ४२ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं २ र ४ को आठ घरका ३० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
यसैगरी धवलागिरि गाउँपालिकाको खोरियामा सडकबाट आएको बाढीले १४ घर विस्थापित भएका गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिका–२ मा नौ घर बाढी पहिरोले बगाएको र २० घर परिवार विस्थापित भएको वडासदस्य समबहादुर विकले बताउनुभयो ।
यसैगरी रघुगङ्गा–८ का वडाध्यक्ष गमान छन्त्यालले चौरखानी गाउँका ३५ घरपरिवार विस्थापित भएको र घ्यासीखर्कमा रहेको स्वास्थ्य चौकी रघुगङ्गा नदीको कटानको जोखिममा परेको बताउनुभयो ।
भौगोलिक विकटताका सार्थ सडक र सञ्चार अवरुद्ध भएकाले खोरिया, रुम र कुइनेमङ्गलेमा प्रहरी पुगिसकेको छैन । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासी जोखिमयुक्त बस्तीका मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न खटिएका छन् ।








