प्रतिनिधिसभा विघटन बिरुद्द कांग्रेसले कानुनी लडाइँ लड्ने

८ जेठ,काठमाण्डौ ।
शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी रुपमा आलोचना गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध नेपाली कांग्रेसले राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ ।नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकाल्दै लोकतन्त्रको रक्षाको लागि राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । त्यसका लागि साथमा रहेका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।

प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।दिउँसो ९३ भन्दा बढी सांसद छैनन् भन्ने प्रधानमन्त्रीलाई नै मुलुकको जिम्मेवारी दिने गरी बहुमतसहित आएकोलाई प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत काम गरेको उनले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीले जुन षडयन्त्रपूर्ण तरिकाबाट शुक्रवार मध्यराति निर्णय गर्नुभयो यो घोर अलोकतान्त्रिक संविधानको मूल मर्मविरुद्धमा रहेको बैठकले निष्कर्ष निकालेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर बैठकको छ ।

कानूनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको र थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने बताए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक शुक्रबार मध्यराति संसद दोस्रोपटक विघटन गर्नुभएको हो । संसद भंग गर्दै राष्ट्रपति भण्डारीले आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गर्नुभएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।