८ जेठ,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिनभर आफ्नो पक्षमा १५३ सांसदको हस्ताक्षर रहेको भन्दै बहुमतको सरकारको दाबी गरेर अन्ततः मध्यरातमा संसद भंग गरिदिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी हुन् ।
सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरे पछि सरकारले संसद विघटनको बाटो खोलेको थियो ।
राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।जनता कोरोनाले आक्रान्त बनेका बेला सरकार निर्वाचनको घोषणा गरेर अघि बढेको छ । गत पुष ५ मा पनि संसद विघटन गरेर ओलीले चुनावको घोषणा गरेका थिए । तर फागुण ११ मा सर्वोच्चले संसद पुनःस्थापना गरिदिए पछि लामो कसरत पछि पुनः संसद विघटन गरिएको हो ।








