रूपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु

बुटवल– बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचार गराई रहेका बुटवलका दुईजना पुरुष र रुपन्देहीको मायाँदेवी गाउँपालिकाकी एक महिलाको विहीबार मृत्यु भएको हो।

मृत्यु हुनेमा बुटवलका ३१ र ६६ वर्षीय पुरुष र मायाँदेवी गाउँपलिकाकी ७२ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

उनीहरुमध्ये ३१ वर्षीय पुरुष वैशाख ८ गते र ६६ वर्षीय पुरुष ९ गते अस्पताल भर्ना भएका थिए। त्यस्तै ७२ वर्षीया महिला वैशाख ११ गते अस्पताल भर्ना भएकी थिइन् ।

बुटवल १४ का ६६ वर्षीय पुरुष र मायाँदेवी गाउँपालिकाकी ७२ वर्षीया महिलाको बिहान ३ बजे र बुटवल ११ का देवीनगरका ३१ वर्षीय पुरुषको बिहान साढे चारबजे मृत्यु भएको सूचना अधिकारी डा गौतमले जानकारी दिए। 

यससँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।