प्रधानमन्त्री ओली र वरिष्ठ नेताबीचको वार्ता सकियो

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ।

बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको वर्ता केहि वेर अगाडि सकिएको हो । भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।

वार्ता सकिएपछि दुवै नेता होटलबाट बाहिरिएका छन्। तर, दुवैले वार्तामा भएको कुराकानीका विषयमा पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्।

सर्वोच्चको फैसलापछि ब्युँतिएको नेकपा एमालेमा दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ।

अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ।

यसअघि आजै नेपाल पक्ष नेताहरूले ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेस गरेका थिए।

नेता माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका हुन्।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि उनीहरूबीच संवाद हुन सकेको थिएन ।

मङ्गलवार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेपछि आज नेता नेपालले ओलीलाई भेटेका हुन् ।

ओलीले हिजो २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।