अर्को शैक्षिक सत्र वैशाखबाटै ,नयाँ शैक्षिक सत्र १० महिनाको मात्र

१८ फागुन, काठमाडौँ । आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ ।School children

कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो ।

सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यार्थीको समयको क्षतिलाई न्यून गर्दै शैक्षिक सत्र मिलाउने तयारीअनुसार नै सरकारले आगामी शैक्षिक सत्र १० महिनामा पूरा गर्ने निर्णयमा पुगेको जानकारी दिए ।

यसको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्नेछन् । निर्देशक पौडेलले शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने बताए । सोअनुसार आगामी शैक्षिक सत्रमा पनि विद्यार्थीले तोकिएको पाठ्यक्रम पूरा अध्ययन गर्न नपाउने भएका छन् ।

पाठ्यक्रमलाई तोकिएको ढाँचामा घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ । शैक्षिक सत्रलाई चैतभित्र पूरा गर्दा केही बिदालाई समेत मिलाउने सरकारी योजना छ ।

आगामी २०७८ सालको चैतमा शैक्षिक सत्र पूरा भएपछि २०७९ सालको शैक्षिक सत्र भने वैशाखबाट सुरु गर्ने र चैतमा पूरा गरिने भएको छ ।

कोरोनाका कारण बिग्रेको नेपालको शैक्षिक सत्रको मिलान २०७९ सालभित्रमा गरिने र त्यसपछि शैक्षिक सत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ । २०७९ सालको शैक्षिक सत्र १२ महिनामा पूरा हुनेछ ।(गोरखापत्र दैनिकमा)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।