३ फाल्गुन,काठमाण्डौ ।
‘सामाजिक संजाल व्यवस्थापन’ का नाममा सामाजिक सञ्जालमाथि अंकुश लगाउन भएको प्रयासको नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । काम चलाउ बनेको सरकारले ‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेको भन्दै कांग्रेसले आज एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।
आज पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वृहत्तर विमर्श विना नै संसद विघटन भएको समयमा निर्देशिका जारी गरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको उल्लेख छ ।सामाजिक संजाललाई नियमन गर्ने र मर्यादित बनाउने विषयमा कसैको पनि विमती नरहेको भन्दै त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान रहेको काँग्रेसको ठहर छ ।
प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै कांग्रेसले सामाजिक संजालमा ब्यक्त मतलाई सरकारी आवेगले कार्वाहीको दायरामा बांध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो काँग्रेसले भनेको छ । सरकारले मुलुकभित्र खुलेका सबै किसिमका सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधानसहित नयाँ निर्देशिकाको मस्यौदा तयार गरेको छ ।
निर्देशिका कार्यान्वयनमा आए अब फेसबुक, ट्विटर, युट्युब, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याटलगायत सबै किसिमका सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ ।







