७ पुष,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ ।आफ्नै सहमतिमा छापिएको सीमा समस्यासम्बन्धी किताब शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वितरण गर्न निर्देशन दिँदा उनको झुकाव भारततिर बढिरहेको प्रतीत भइसकेको थियो ।उनले गोलसँगको भेट सकभर गोप्य राख्न खोजेका थिए तर गोयल पक्षले नै त्यसलाई प्रचारमा ल्याइदिएपछि मध्यरातको भेट ढिलो गरी सार्वजनिक गर्न बालुवाटार बाध्य भयो । रअ प्रमुखसँगको अपरादर्शी भेटपछि नेकपाको संकट गहिरियो र ओली स्वयम् राष्ट्रवादी छवि पार्टीभित्र–बाहिर दुवैतिर धुमिलिँदै गयो ।
लिपुलेक सीमा विवादका विषयमा विवादास्पद टिप्पणी गरेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नवरणेलाई उक्त विवाद कायमै रहेका बेला काठमाडौँ आउने निम्तो दिइयो । यता, आन्तरिक राजनीति चर्किरहेका बेला मंसिर २५ गते भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले एकाएक काठमाडौँ ओर्लिए ।उनीसँग प्रधानमन्त्रीको भेट पनि सुरुमा गोप्य नै राख्न खोजिएको थियो । चौथाइवाले आफैले ट्वीट गर्दै नेकपा महासचिव विष्णु पौडेलले काठमाडौँ भ्रमणको निम्तो दिएको खुलासा गरेपछि त्यो भेट गोप्य रहेन । पार्टी विदेश विभागलाई सामान्य जानकारी पनि चौथाइवालेलाई बोलाएको भन्दै फेरि एक पटक नेकपाभित्र ओली कार्यशैलीको आलोचना भयो ।
बालुवाटरले यी पछिल्ला भ्रमणहरुबाट दिल्लीसँग विश्वासको सम्बन्ध बढाउन चाहेको देखिन्छ । तर यस क्रममा देखिएको अपारदर्शी प्रवृत्तिले प्रधानमन्त्री ओलीको राष्ट्रवादी छविलाई क्रमशः कमजोर बनाउँदै लगेको छ। उनका आफ्नै पूर्वअडानहरु पनि खस्कँदै गएको देखिन्छ । आफ्नो सत्ता जोगाउनका लागि पाँच वर्षअघि हासिल गरेको राष्ट्रवादी छविलाई पनि दाउमा लगाए ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।