३० मंसिर,काठमाण्डौ ।
कोरोनाभाईरसका कारण सर्बसाधारणका लागि ९ महिना देखी बन्द रहेको पशुपतिनाथ मन्दिर भक्तजनका लागि खोल्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान पूजा गरेकी हुन् । भोली देखी मन्दिर सर्बसाधारणका लागि खुलाईने भएको छ । सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट
विशेषपूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ । मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजन लगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन ।







