६ वर्षीया बालिकाको हत्या आरोप लागेको घरमा आगजनी

९ मंसिर,बर्दिवास ।
महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् ।आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका कारण दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेको छैन । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ । बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा पक्राउ परेकाको साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

बर्दिवास नगरपालिका–१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।