आफ्नो बेइज्जत भएको भन्दै काठमाडौ‌ महानगरद्वारा नि:शुल्क खाना अभियान रोक

१७ कार्तिक,काठमाण्डौ ।
महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो । महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए । सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ ।

हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ ।सार्वजनिक स्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियान अन्तरगत सडकमा सहयोगको अपेक्षा राख्नेमाथि आश्रममार्फत सेवा दिने काम भइरहेको महानगरपालिकाले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।