१२ आश्विन,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन् । भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनु पर्ने लगायत अन्य कडा प्रावधान राखिएको छ । त्यस्तै फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ ।
अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश राष्ट्रपतिले जारी गरेको राष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद दहालले जानकारी दिए ।







