११ भाद्र,चितवन ।
चितवनमा थप ४५ जना कोरोना संक्रमण भेटिएको छ । बुधबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा भर्खर भात खुवाइ गरिएका माडीका पाँचमहिने बालक समेत रहेका छन् ।
भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुनाको परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । तीमध्ये १४ जना रत्ननगर नगरपालिकाका छन् ।
माडी नगरपालिकाका नौ जनामा र भरतपुर महानगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । बाँकी एक जना तनहुँ, देवाघाट गाउँपालिकाको रहेको अस्पतालले जनाएको छ ।
सीएमसीमा बुधवार राति १ सय ५५ वटा नमुनाको परीक्षण प्रतिवेदन आएको थियो जसमा २६ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ । तिनमा नवलपुरका तीन, सर्लाहीका दुई र तनहुँका एक गरी ६ जना संक्रमितबाहेक बाँकी २० जना चितवनकै हुन् । चितवनका २० जनामा रत्ननगरका चार जनाबाहेक १६ जना भरतपुर महानगरपालिकाका छन् ।
माडी नगरपालिकामा असार मसान्तपछि संक्रमित भेटिएका थिएनन् । तर बुधबार एकै दिन नौजना संक्रमित पत्ता लागेका छन् । नगर स्वास्थ्य संयोजक शिवहरि सुवेदीका अनुसार भर्खर पास्नी गरिएका एक जना ५ महिने बालक र उनको परिवारका दुई जना सदस्यमा पनि संक्रमण देखिएको हो । ‘असार मसान्तयता आठ सय जनाको स्वाब परीक्षण भएको मा कसैमा संक्रमण देखिएको थिएन ।







