नेपालमा भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खुला,कोरोनाको पीसीआर रिपोर्ट अनिबार्य

५ भाद्र,काठमाण्डौ ।
सरकारले भदौं १६ गतेबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएकाे छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार सरकारले भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान सशर्त खुला गर्ने निर्णय गरेकाे हाे । आरटी/पीसीआर परिक्षण सहज भएका मुलुक तथा सहरबाट नियमित उडान खुला गरिएको जनाउँदै प्रवक्ता खतिवडाले परिक्षण सहज नभएकाे स्थानबाट उद्धार उडानमात्र गर्ने निर्णय गरिएकाे बताए ।प्रवक्ता डा. खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको जानकारी दिएका छन् । खतिवडाका अनुसार पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भएकाले सरकारले उक्त निर्णय गरेको हो।

‘आरटी/पीसीआर परीक्षण सहज भएका मुलुक/सहरहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मलुकबाट नेपाल सरकारको अनुमति पाएका नेपाली नागरिकहरु र नेपालस्थित विदेशी नियोगका कटुनितिज्ञ तथा कर्मचारीहरु, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्ने,’ निर्णय भएकाे खतिवडाले बताए ।

उनका अनुसार, भदौं १६ पछि हुने नियमित उडान तालिका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने छ । तर, आरटी/पीसीआरको व्यवस्था सहज नभएका मुलुकबाट तत्काल नियमित उडान हुने छैनन् । ‘ जस्तै साउदी अरब, कुबेत, कतार र अन्य मुलुकबाट नियमित यात्रु ल्याउन पाइने छैन,’ मन्त्री खतिवडाले भने । खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुकोलागी अर्को विकल्प रहेको पनि बताउनुभएको छ । उहाँका अनुसार त्यस्ता मुलुकबाट स्वदेश आउन चाहाने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने रहेको छ ।

नेपाल आउन खुला गरिएका मुलुकबाट आउने यात्रुले ७२ घन्टा अघिको आरटी/पीसीर नेगेटीभ भएको रिपोर्ट बुझाउनुपर्ने छ । त्यस्तै नेपाल आउने यात्रुहरुले विदेशबाटै कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेभसाइटमा रहेको फर्म अनिवार्य भरेर साथै ल्याएर आउनुपर्ने छ । हार्डकपी नभएमा बारकोड बुझाउनुपर्ने छ । त्यस्तै ७ दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होटलको बुकिङ पनि अनिवार्य गरिएको छ । यी सबै गरेमा मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका प्रकाशन गर्नुपर्ने छ ।

आरटी/पीसीर नेगेटीभ भएको रिपोर्ट बुझाएर आएका यात्रुहरुको होटलको बसाइ सकिएपछि नेपालमा पुन परीक्षण हुनेछ । उनीहरुको रेकर्ड राखिने छ । त्यसपछि ती यात्रुहरुले थप १४ दिन होम क्वारेन्टाइन पनि बस्नुपर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने छ । ‘१४ दिन होम क्वारेन्टाइनको अनुगमन’ को जिम्मेवारी मन्त्रिपरिषदले स्थानीय तहलाई दिएको छ । मन्त्रीपरिषदले होटल क्वारेन्टाइनमा बस्नुपर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टाइनमा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्चसमेत उठाउन वायुसेवा कम्पनीलाई अनुमति दिएको छ । यसरी उठाइएको होटलको खर्च वायुसेवा कम्पनीले नै होटललाई तिर्नुपर्ने छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।