नेपालमा १ जना कोरोना संक्रमित पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च

५ भाद्र,काठमाण्डौ ।
नेपालमा सरकारले हालसम्म कोरोना परिक्षणका लागि ३ अर्ब भन्दा बढी खर्च भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिनुभएको हो । यो हिसाबले एक जना पत्ता लगाउदा १ लाख ४ हजार रुपैया सरकारको खर्च भएको छ । सरकारले हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले बताउनुभयो । अहिलेसम्म गरिएको परीक्षणमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । सरकारले एकजनाको पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ ।

प्रवक्ता गौतमले एकजना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो । यस्तै आईसीयूमा राखेर उपचार गर्दा झनै बढी खर्च हुने मन्त्रालयले जनाएको छ । एक जनालाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।