अस्ट्रेलियाली क्वान्टास एयरले ६ हजार कर्मचारी हटाउने

एजेन्सी
सिड्नी । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना छ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीले पर्यटन क्षेत्रमा आएको मन्दीसँगै १०० वटा विमान पनि सञ्चालन नगर्ने र यसबाट करिब १० अर्ब अमेरिकी डलर बचत गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अलान जोएसले कम्पनीको इतिहासमै यसवर्ष सबैभन्दा ठूलो संकटको सामना गर्नु परेको बताएका छन् । उनले कम्पनीका आधाभन्दा बढी कर्मचारी अर्थात् करिब २३ हजार कर्मचारीलाई पनि विदामा बस्न भनिएको जानकारी दिए ।कोरोना महामारीका कारण क्वान्टासले आफ्ना सबैजसो अन्तर्राष्ट्रिय उडान कम्तीमा आगामी अक्टोबरसम्मका लागि रद्द गरेको जनाएको छ । कम्पनीले घरेलु उडान पनि सीमित मात्र गरिएको बताएको छ ।

अस्ट्रेलियाका अधिकाँश शहरमा कोरोनाभाइरस प्रसार नियन्त्रणमा आएसँगै घरेलु उडानको संख्या बढ्न थालेका छन् । तर अन्तर्राष्ट्रिय सीमामा हुने कडाई अर्को वर्षसम्म जारी रहने सम्भावना रहेकाले सबै अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने देखिएको छ । अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा एकाएक कोरोनाभाइरस देखिएसँगै यसको प्रभाव सहजै अन्त्य हुन नसक्ने दृष्टान्त देखाएको छ ।

क्वान्टासका कार्यकारी जोएसले आगामी केही वर्षसम्म कम्पनीको राजश्वमा ठूलै कमी आउने बताउँदै आफ्नो कम्पनी केही समय सानो विमान सेवाका रुपमा खुम्चिने सम्भावना रहेको बताए । –एएफपी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।