संविधान संशोधन विधेयक २०७७ राष्ट्रिय सभाबाट पारित हुँदै

४ असार,काठमाण्डौ ।
राष्ट्रिय सभा बैठकबाट आज संविधान संशोधन पारित हुने भएको छ । नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भैसकेको छ । विधेयकमाथि राष्ट्रिय सभामा कुनै संशोधन परेको छैन । जारी बैठकमा विधेयक माथि छलफलपछि कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरिसकेकी छिन् ।राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन्। पारित हुन दुई तिहाई मत आवश्यक हुन्छ । राष्ट्रिय सभाले विधेयक पारित भएपछि त्यसको सूचना प्रतिनिधिसभालाई दिनेछ। प्रतिनिधि सभाले विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत गर्नेछ। राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नेपालको संविधानमा नयाँ निशान छाप समेटिनेछ । सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।