२७ जेठ,चितवन ।
नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचाररत एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ । बिरामी कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका थियो । चिकित्सकका अनुसार कोभिड–१९ कारण उनको निधन भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन
उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने र नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उनले जानकारी दिए ।शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको यो पहिलो हो । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए ।







