२५ जेठ,काठमाण्डौ ।
कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण नेपालमा तिब्रगतीमा फैलिरहेको छ । यस बिपदका बेला बिभिन्न देशमा लकडाउनमा फसेका नेपालीलाई उद्दार कार्य सुरु भएको छ । यस्तै नेपालमा रहेका बिभिन्न देशका नागरिकहरुलाई समेत सम्बन्धित देशमा फर्कने क्रम जारी छ । यसैबिच चार्टड उडानका नाममा बिमान कम्पनी र ट्राभल एजेन्सीहरुले आफु खुसी चार्टड उडान गरी मनलाग्दी भाडा
लिएको भन्दै सो कार्य नगर्नका लागि नागरिक उड्डयन प्राधिकरणले चार्टड उडानमा रोक लगाएको छ । प्राधिकरणले टिकट नबेच्न समेत निर्देशन दिएको छ । तर,कुटनीतिक माध्यमबाट हुने चार्टर उडान भने रोकिएका छैनन् । प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै चार्टर उडानमा रोक लगाएका हुन् ।
सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको छ । तर, सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो ।उच्च स्रोतका अनुसार, मन्त्रालयले शनिबारै प्राधिकरणलाई तत्काल कडाई गर्न भनेपछि प्राधिकरणले साँझ सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई सूचना पठाएको छ ।
प्राधिकरणले नेपालका लागि र नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ भइरहेको जानकारी प्राप्त भएको जनाउँदै टिकट बिक्री नगर्न नगराउन सूचना जारी गरेको हो । ‘मानवीय उद्धार गर्नुपर्ने नै भए सम्बन्धित मुलुकको दुतावासमार्फत् चार्टर उडानका लागि अनुमति माग भएमा मात्रै हुनेछ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘तर, एजेन्ट र एयरलायन्सले यो मौकामा मनपरी भाडा असुल्दै चार्टर गर्न रोक लगाइएको छ ।’चैत यता १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन् ।







