२४ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण दिन दुइ गुणा रात चार गुणा बृद्दि भैइरहेका बेला अस्पताल आएकाहरुलाई पिसिआर परिक्षण बिनानै डिस्चार्ज गर्न थालिएको छ । यसैबिच बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जनालाई पीसीआर परीक्षणविनै घर पठाइएको छ । डिस्चार्ज गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन् ।
१४ दिन आइसोलेसनमा बसेपछि लगातार दुईपटक पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएकामा त्यसो नगरी घर पठाइएको हो । ‘स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले डिस्चार्ज गरेका हौं,’ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले भने, ‘जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप पीसीआर परीक्षण नगरी घर पठाइएको हो ।’
यसअघि संक्रमितलाई डिस्चार्ज गर्दा सञ्चारकर्मीहरुलाई खबर गरेर प्रचार गर्ने गरिए पनि यसपटक भने अस्पतालले ‘सुटुक्क’ डिस्चार्ज गरेको छ । घर पठाइएकालाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने भएकाले यसलाई अन्यथा लिन नहुने डा. गौतमले बताए ।







