ताप्लेजुङमा भीषण आगलागी, ७ घर जलेर नष्ट

ताप्लेजुङ , बैशाख २० । शुक्रबार राती ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा लागेको आगो ४ घण्टामा नियन्त्रणमा आएको हो ।आगलागीबाट ७ वटा घर र ती घरमा रहेको ११ वटा पसल जलेर नष्ट भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनलका अनुसार आगलागीबाट मानवीय क्षति भने नभएको जानकारी दिए ।आगलागीपछि नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । राति मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिण्डर विस्फोट भएर वातावरण झनै आतंकित भएको थियो । आगलागीको कारण भने खुलेको छैन ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । फुङलिङ बजारमा पटक पटक आगलागी हुने गरेको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।