७ बैशाख,धनगढी ।
सेती प्रादेशिक अस्पतालबाट कोरोना भाइरसमुक्त भएर बाहिरिदै गरेका कैलाली लम्की चुहा नगरपालिका–९ प्रतापपुरका २१ बर्षिय राजु बिकलाईले कोरोना संग हिम्मत हार्न नहुने र हिम्मतिलो भएर बिश्वासका साथ उपचार गर्दा कोरोनालाई जित्न सकिने बताएका छन् । राजुको तेस्रो पटकको रिपोर्ट समेत नेगेटिभ आएपछि उनलाई अस्पतालले आज अपरान्ह साढे ४ बजे डिस्चार्ज गरेको हो ।
उनलाई अस्पतालका मेसु डा.हेमराज पाण्डेय र उपचारमा संलग्न डा. जगदिश जोशी समेतको टीमले बाहिर कोरोनामुक्त घोषणा गरेका हुन् । उनी भारतको मुम्बईबाट चैत ११ गते आएका थिए ।भने,चैत्र १२ गतेदेखि प्रतापपुरको क्वारेन्टाईनमा बसेका थिए । चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार दोश्रो पटक परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
त्यसको २४ घण्टा पछि आज अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा.जगदीश जोशीले बताए । उनले युवकको दुईपटक नै कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज घर पठाइएको बताउदै घर फर्किएपछि पनि एक हप्ता सम्म सामाजिक दुरी कायम गर्न आग्रह गरिएको बताए ।
११ दिनसम्म क्वारेन्टाइनमा र त्यसपछि सेती प्रादेशिक अस्पतालमा १३ दिन आइसोलेसन बसेका उनी घर फर्कन पाउँदा दङ्ग देखिन्थे । उनलाई सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीले पुष्पगुच्छा प्रदान गर्दै बधाई दिएर विदाई गरेका थिए ।







