२१ चैत्र, काठमाण्डौ । विद्युतीय भुक्तानी सेवाप्रदायक (गेटवे) ‘इसेवा’लाई धमाधम डिलिट गर्न थालेका छन् । यसका प्रयोगकर्ताहरुले इसेवामाथि प्रश्न ठड्याउदैं इसेवा डिलिट अभियान चलाएका हुन् । प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलि सञ्चालक रहेको सिरान टेक्नोलोलिजले काठमाडौंबाट सञ्चालित अनलाइन काठमाडौंप्रेसमा प्रकाशित समाचार ह्याक गरेर पेजबाट हटाएपछि ईसेवाका प्रयोगकर्ता शसङ्कित बनेका छन् । ईसेवाले आफ्नो व्यक्तीगत विवरण र पैसाको चोरी गर्न सक्ने भन्दैं इसेवा ‘डिएक्टिभेट’ अभियान चलेको हो ।
इसेवाका मालिकसमेत रहेका अस्गरको समूहले अनधिकृत काम गरेपछि ग्राहकहरुले प्रश्न उठाउँदै सामाजिक सञ्जालमा इसेवा बहिस्कारको अभियान चलाएका छन् । आफ्नो विरुद्ध समाचार सार्वजनिक भएपछि अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गरेपछि इसेवाका ग्राहकहरुले सचेत बन्दैं सो एप डिलिट गर्न थालेका हुन् ।काठमाडौं प्रेस अनलाइनले प्रधानमन्त्रीका आइटी विज्ञ अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल रहेको समाचार प्रकाशित गरेको थियो । सिरान टेक्नोलोजीले काठमाडौं प्रेस ह्याक गरेको स्वीकार समेत गरिसकेको छ ।
उक्त समाचार हटाउन पटक–पटक दबाब आएको तर नहटाएपछि सिस्टमभित्रै घुसेर समाचार हटाइदिएको काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारले बताएका छन् । इसेवा र सिरान टेक कम्पनी एउटै सञ्चालकले चलाएका कम्पनी हुन् । त्यसमध्ये इसेवाले विद्युतीय भुक्तानी र सिरान टेकले वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्छ । काठमाडौँ प्रेसको वेभसाइटको डिजाइन तथा डेभलपमेण्ट पनि सिरान टेकले नै गरेको थियो।
यसरी आफूलाई समाचारमा चित्त नबुझेपछि आफैंले डिजाइन गरेको वेवसाईटभित्र अनाधिकृतरुपमा छिरेर समाचार डिलिट गरेपछि इसेवाका लाखौँ प्रयोगकर्ताले झस्किएका हुन् । पत्रकार गजेन्द्र बुढाथोकीले १० वर्षदेखि सेवा दिँदै आएको इसेवा सञ्चालकहरूले गरेको गलत कार्यको परिणाम नराम्रो हुने चेतावनी दिए । ‘ब्रान्ड बनाउन १० वर्ष लाग्छ, बिग्रन १० मिनेट । ईसेवाले आज एक मिडियाको सिप्यानलमा अनाधिकृत प्रवेश गरेको परिणाम छिटै देखिनेछ’, बुढाथोकीले ट्वीटरमा भनेका छन् ।








