अष्ट्रेलिया उडेको चार्टड बिमानमा समेत २७ लाखको कमिशन

२० चैत्र,काठमाण्डौ ।
बुधबार काठमाडौंबाट मलेसियाको कोलालाम्पुर हुदै अष्ट्रेलियाको ब्रिसबेन पुगेको अष्ट्रेलियन दुताबासको चार्टड बिमानमा समेत कमिशनको खेल भएको आरोप लागेको छ । अष्ट्रेलियन दुताबासले चार्टड गरेको बिमानको टिकेटिङमा नेपाल बायुसेवा निगम भित्रका कर्मचारीले निजि ट्राभललाई घुसाएपछि २७ लाख ५० हजार भन्दा बढी रकम निगमलाई घाटा लाग्ने भएको हो ।नेपाल वायुसेवा निगमको एअरबस ३३० ब्रिसबेन विमानस्थल बाट यात्रुलाई ओराल्नेछ र त्यहाँबाट पुनः नेपाल फर्कने छ । अहिले काठमाडौंबाट मलेसियासम्मको यात्राको समय ४ घण्टा ३० मिनेट रहेको छ भने क्वालालुम्पुरबाट अष्ट्रेलियाको ब्रिसबेनसम्मको यात्राको समय ८ घण्टा रहेको छ । यसरी हेर्दा काठमाडौंबाट अष्ट्रेलियाको ब्रिसबेन पुग्न १२ घण्टा ३० मिनेटको समय लाग्नेछ ।
त्यसैगरी त्यहाँबाट फर्कँदा पनि सोही समय नै लाग्नेछ । यसरी हेर्दा सोझो हिसाबले पनि काठमाडौं–अष्ट्रेलिया–काठमाडौं उडानको समय करिब २५ घण्टाको हुनेछ । नेपाल वायुसेवा निगमले २५ घण्टाको १८ हजार १ सयको दरले भाडा लिँदा ४ लाख ५२ हजार ५ सय डलर भाडावापत पाउनुपर्ने हुन्छ ।

चैत १९ गते बुधबारको अमेरिकी डलरको खरिद मूल्य १ सय २१ रुपैयाँ ३६ पैसा रहेको छ । यही मूल्यलाई आधार मान्ने हो भने निगमले २५ घण्टा उडानको चार्टर वापतको रकम ५ करोड ४९ लाख १५ हजार ४ सय रुपैयाँ पाउनुपर्ने हुन्छ ।तर नेपाल वायुसेवा निगमले भने त्यो रकममा ५ प्रतिशत कमिसन काटेर मात्रै पाउनेछ । किनभने एम्बेसी र नेपाल वायुसेवा निगमको बीचमा ट्राभल एजेन्सी घुसाएर निगमकै वाणिज्य विभागका कर्मचारीले कमिसन खान यो खेल खेलेका छन् ।

निगमले कमिसनवापत २७ लाख ४५ हजार ७ सय ७० रुपैयाँ ट्राभल एजेन्सीलाई बुझाउँदैछ । यसको अर्थ निगमलाई सोझै काम आउँदा पनि २७ लाख ४५ हजार घाटा हुने निश्चित छ ।अष्ट्रेलियन दूतावासले नेपाल वायुसेवा निगमलाई पत्र लेख्दा र अष्ट्रेलियन सरकारलाई पत्र लेख्दा पनि विमान चार्टर गर्ने पार्टीमा अष्ट्रेलियन एम्बेसी नै रहेको उल्लेख गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।