बेलायतमा कोरोनाकै कारण १०४ जनाको मृत्यु,२ लाख बढीको मृत्यु हुनसक्ने चेतावनी

६ चैत्र, काठमाण्डौ ।
विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसका कारण बेलायतमा अहिले सम्म १ सय ४ जनाको मृत्यु भएको छ ।भने, २६२६ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै कोरोनाकै कारण बेलायतमा २ लाख ५० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ ।अनुसन्धानकर्ताहरुले बेलैमा सतर्कता नअपनाउने हो भने मुलुकले यो क्षति ब्यहोर्नपर्ने छ । इम्पेरियल कलेज लण्डनका विज्ञहरुले योसम्बन्धि प्रतिवेदन बुझाइसकेका छन् । उनीहरुले अवस्था नियन्त्रण बाहिर जान नदिन इटालीबाट पाठ सिक्न पनि भनेका छन् ।प्रकोप नियन्त्रणका लागि अघि सारिएका योजनाहरुले काम नगर्दा विज्ञहरुको चेतावनीप्रति सरकारी अधिकारीहरु सतर्क बनेका छन् । प्रकोपबाट हुने क्षति न्यून गर्नकै लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको छ । दशौं लाख मानिसहरु घरबाटै काम गर्न थालेका छन् । सार्वजनिक स्थलहरुमा मानिसहरुलाई भेला हुन बन्देज लगाइएको छ ।
उसै पनि अवस्थामा सुधार नआए ब्रिटेन १८ महिनासम्मका लागि लक डाउन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी प्रधानमन्त्री बोरिस जोन्सनले दिइसकेका छन् । उनले मुलुक महामारीविरुद्ध युद्धमा संलग्न भैसकेको र यसविरुद्ध जीत पाएरै छाड्ने दृढता पनि दिएका छन् ।

प्राध्यापक नील फर्गुसनले खराब अवस्थामा २ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएका हुन् । इम्पेरियल कलेजको अनुसन्धानकर्ताको समूहले इटालीमा कसरी यो प्रकोप अनियन्त्रित भयो र त्यही गतिमा बेलायतमा फैलिए कस्तोसम्म हुनसक्छ भन्ने बताएको डेली मेलले समाचारमा उल्लेख गरेको छ ।सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले ब्रिटेनमा करिब ५५ हजार जना संक्रमित भएको हुन सक्ने दावी गरेका छन् । उनले बेलायती संसद हाउस अफ कमन्सको हेल्थ कमिटीका सांसदहरुसमक्ष अहिलेको महामारीमा २० हजारमात्र मरे पनि त्यो राम्रो परिणाम हुने बताएको बेलायती अखबारहरुले उल्लेख गरेका छन् ।ब्रिटिश सरकारले मंगलबार कोरोना भाइरसबाट प्रभावित व्यापार, व्यवसायहरुलाई सहयोग गर्न एउटा अप्रत्यासित वित्तिय प्याकेज घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणले अर्थतन्त्र संकटन्मुख भएपछि बेलायत सरकारले नयां प्याकेज घोषणा गरेको हो ।ब्रिटिश अर्थमन्त्री ऋषि सुनकले मंगलबार साना कम्पनीहरुको बीमा, कर छुट, सहुलियतपूर्ण ऋण लगायत सहयोगका लागि ३३० अर्ब पाउण्ड छुट्टाइएको घोषणा गरे । यसमा होटेल, रेष्टुरेन्ट तथा विमान सेवाहरु पनि पर्नेछन् ।

प्याकेजमा पसल तथा रेष्टुरेन्टहरुले यो वर्ष बिजनेश रेट तिर्नुपर्ने छैन् भने घर किन्नेलाई तीन महिनासम्म मोर्गेज ढिलाइमा छुट, बैंक अफ इंग्ल्याण्डको स्वीकृतिमा ठूला फर्महरुलाई सहुलियतमा ऋण सुविधा, कर छुट आदि छन् । अर्थमन्त्रीले यदि यो प्याकेज पर्याप्त नभए सरकारले थप उपाय घोषणा गर्ने पनि बताएका छन् ।अर्थमन्त्री सुनकले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा अहिले बेलायतमा आर्थिक संकटकाल आएको बताउंदै विश्वयुद्धपछि यस्तो संकट कहिल्यै सामना गर्नु नपरेको बताए । उनले एयरलाइन्स र एयरपोर्टलाई सहयोग गर्न छिट्टै आफ्ना सहकर्मी यातायात मन्त्रीसंग सम्भावित प्याकेजबारे छलफल गरिने आश्वासन पनि दिएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले नियमित पत्रकार सम्मेलनमा अर्थतन्त्र उकास्न सम्भव भएसम्म सबै गर्नुपर्ने बताए । ‘यो समय निडर र साहसी हुने बेला हो । हामी रोजगारी, आम्दानी र व्यवसायलाई सहायता गर्छौं’, उनको प्रतिवद्धता छ ।सरकारको राहत प्याकेजले संकट उन्मुख भएका बेलायतका नेपाली व्यवसायीहरु खुशी छन् । ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामी सरकारको प्याकेजले घर हुनेलाई धेरै राहत दिने विश्वास गर्छन् ।‘बैंकले तीन महिनासम्म मोर्गेज नतिरे पनि छुट दिने व्यवस्थाले अरु विकल्प खोज्न सहज हुन्छ’, मोर्गेज सल्लाहकार समेत रहेका दर्लामीले भने, ‘खासमा यो सरकारको अर्थतन्त्र उकास्ने दीर्घकालिन नीति हो । बेलायती अर्थतन्त्रमा दोश्रो विश्वयुद्धपछिकै नराम्रो असर पुग्ने अड्कल भइरहंदा सरकारको प्रयास सरहानीय छ ।’ अहिले घरको मोर्गेज (किस्ता) तिर्न ढिला तिरे बैंकले कारवाही गर्छ र रेकर्ड पनि नराम्रो बस्छ ।

ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष बिराज भट्टको ट्राभल व्यवसाय अहिले चौपट्ट छ । आफ्नो करिब ७० प्रतिशत व्यापार घटेका बेला सरकारले घोषणा गरेको राहत कार्यक्रम सकारात्मक रहेको उनले बताए । ‘हवाइ व्यवसाय अहिले समग्रमा करिब ८० प्रतिशत घाटामा छ । धेरै व्यवसाय बन्द हुने अवस्थामा सरकारको कदम राम्रो शुरुवात हो तर कार्यान्वयन कसरी र कहिले हुन्छ हेर्न बांकी छ’, उनले भने । कोरोना भाइरस संक्रमणले ट्राभल व्यवसाय सबैभन्दा बढि प्रभावित भएको व्यवसायी बताउंछन् । ब्रिटिश सरकारले एक महिनाका लागि अत्यावश्यक परिस्थितिमा बाहेक यात्रा नगर्न निर्देशिका जारी गरेको छ । भट्ट ट्राभल व्यवसायमा आउंदो वर्षका लागिमात्र केही आशा गर्न सकिने बताउंछन् । विगत १० वर्षदेखि सिटी क्लिन कम्पनी सञ्चालन गरिरहेका व्यवसायी मनोज मेहता आफ्नो व्यापार ५० प्रतिशत घटेको बताउंछन् । उनको कम्पनीले सेन्ट्रल लन्डनका करिब ३५ वटा होटेल, रेष्टुरेन्टमा एकसय ६० कामदार पठाइरहेको थियो । तर, अहिले उनले पठाउने होटेल, रेष्टुरेन्टको व्यापार ७० प्रतिशतसम्म घटेपछि संकट आइपरेको गुनासो मेहताको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।