सरकार माथि पहिलो कोरोना संक्रमितको गम्भिर आरोप

२७ फागुन,काठमाण्डौ ।
कोरोनाभाईरसले आंतकित बनाईरहेका बेला नेपालको पहिलो कोरोना संक्रमितले भने नेपाल सरकारमाथि गम्भिर आरोप लगाएका छन् ।पहिलो कोरोना संक्रमित नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका पछि आरोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरूको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको अवस्था छ ।मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएको छ । मिडियाको सम्पर्कमा आएका उनले भने– ‘हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ।’

बिरामीका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो । तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्केर सरकारको एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे । सामान्य बिरामी सरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए ।
‘ल्याब परीक्षणको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्ने भएकाले उनलाई टेकू अस्पतालको विशेष कक्षमै भर्ना गरियो। ‘तर म अस्पतालको वातावरण देखेर निराश भएँ र अस्पताल छोडें। अस्पताल छोडेको दोस्रो दिन मेरो रिपोर्ट आयो र अस्पतालले फोन गरेर बोलायो । अस्पताल पुग्दा कोरोना भाइरस भएको अर्थात पोजेटिभ रिपोर्ट आएछ, यो सुनेर म आत्तिएँ।

अस्पतालले अब एक्लै अस्पतालको छुट्टै कोठामा बसेर उपचार गराउनुपर्छ भन्ने जानकारी गरायो। मेरा लागि अस्पतालमा बस्नु भनेको जेल जीवन बिताएजत्तिकै कठिन थियो।’

उनले अस्पताल छोडे । अस्पताल प्रशासनले पनि लाचारी देखायो, उनले डाक्टरहरू स्वयं पनि रोगसँग डराएको पाए र आफ्नै जोखिममा आफैं उपचार गर्ने निर्णय सुनाउँदै घर फर्के। अस्पतालले पनि कोरोना भाइरसको औषधी दिन नसक्ने उनले बुझेका थिए। ‘माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफैले गरेँ’ –उनले बताए।

एक सातापछि उनी फेरि परीक्षणका लागि अस्पताल पुगे। बिरामीले भने– ‘मेरो –यालको पुनः परीक्षण गरियो, रिपोर्ट नेगेटिभ आयो। अस्पतालले अझै क्वारेनटाइनमा बस्नुपर्छ भनेको थियो। तर मैले मानिनँ।’

बिरामीका अनुसार, उनी घरमा छुट्टै कोठा र शौचालय प्रयोग गर्थे, उनलाई सघाउने परिवारका सदस्यसँग पनि आमुन्ने–सामुन्ने र निकट भएर बस्दैनथे। सरसफाइ र संक्रमणमा कडाइका साथ ध्यान दिएका कारण उनी त निको भए नै, अरूलाई पनि रोग सारेनन्।नेपाल समाचारपत्रमा यो खबर छ ।

( कोरोनाभाईरस एक सामान्य भाईरस हो,यसबाट बच्नका लागि सधै साबुन पानीले राम्रो संग हात धुने,सकेसम्म माक्सको प्रयोग गर्ने र भिडभाडमा नजानुहोस् । कुनै शंका लागेमा यथासक्य चिकित्सकको सल्लाह लिनुहोस् ।)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।