२५ फागुन,काठमाण्डौ ।
चीनको वुहान शहर बाट फैलिएको कोरोनाभाईरसको महामारीले नेपालमा समेत आंतकित बनाएको छ । केहि समय अघि सम्म खासै प्रतिकुल प्रभाब नपरेको काठमाण्डौको टेकु अस्पताल अहिले कोरोनाको आंसाकामा भरिएको छ ।विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो। त्रिभुवन विमानस्थल हेल्थ डेक्सका अनुसार केही दिनयता दैनिक दुई देखि तीनजना शंकास्पद बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्ने गरिएको छ । टेकु अस्पतालको कोरोना भाइरसको शंकास्पद बिरामीका लागि उपचार गर्न बनाइएका पाँचवटा आइसोलेसन वार्ड भरिएका छन् ।
विमानस्थलमा भेटिने शंकास्पद बिरामीलाई पाटन अस्पतालमा पठाउने तयारी भएको विमानस्थल हेल्थ डेक्स स्रोतले जनाएको छ। आईतबार मात्रै विमानस्थलबाट दुईजना कोरोना भाइरसका शंकास्पद बिरामीलाई टेकु अस्पताल पठाइको बताइएको छ ।
कुवेत र कतारबाट आएका ती नागरिकलाई हेल्थ डेक्समा परीक्षण गर्दा रुघाखोकीसहित उच्च ज्वरो देखिएपछि आइसोलेसनमा पठाइएको हो। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विमानस्थ हेल्थ डेक्समा यात्रुको निगरानी कडा बनाइएको छ ।
विश्वभर कोरोनाले उग्र रुप लिएपछि नेपालमा समेत यसको ठुलै त्रास फैलिएको छ । यद्दपी सम्बन्धित निकायले त्रासमा नबस्न र कोरोनाबाट बच्नका लागि सबैमा अपिल समेत गरेको छ ।
( कोरोनाभाईरस एक सामान्य भाईरस हो,यसबाट बच्नका लागि सधै साबुन पानीले राम्रो संग हात धुने,सकेसम्म माक्सको प्रयोग गर्ने र भिडभाडमा नजानुहोला । कुनै शंका लागेमा यथासक्य चिकित्सकको सल्लाह लिनुहोस् ।)