काठमाडौं । यही फागुन ८ गते गोरखापत्रको कोहलपुर संस्करण सुरुआत गर्ने क्रममा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सधैंझैं मिडियालाई होच्याए ।मिडियालाई एक आँखा चिम्लिएको सिकारीका रूपमा अथ्याउँदै उनले त्यसमा हुने आलोचनाले सरकारलाई फरक नपर्ने बताए ।
‘एक आँखा चिम्लिने त सिकारी हुन्छ। प्रेसले दुइटै आँखा खुला गर्नुपर्छ,’ उनको अर्ती थियो, ‘अहिलेको प्रवृत्ति सिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ तर जति ठोके पनि केही फरकै पर्दैन ।’
तर यसपटक साँच्चै फरक पर्याे। समाजलाई सधैं सदाचारको पाठ सुनाउँदै आलोचकलाई हतोत्साही गर्न खप्पिस बाँस्कोटाको पद खुस्काउने खबर मिडियामार्फत सार्वजनिक भएको थियो । आज आइतबारको नेपाल साप्ताहिकमा रविराज बराल लेख्छन्– रातारात मिडियाहरूमा आफूले कमिसनका लागि गर्दै गरेको ‘सेटिङ’को अडियो सार्वजनिक भएपछि उनी कोहलपुरबाट काठमाडौं आइपुगे र राजीनामा दिए ।
पत्रकार सम्मेलन गरेर प्रश्नहरू सामना गर्ने आँट पनि गरेनन् । बरु नैतिकताका आधारमा राजीनामा दिएको सगर्व घोषणा ट्विटमा गरे । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलन होस् वा सार्वजनिक कार्यक्रम, सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटा ‘कन्फिडेन्ट’ देखिन्थे । तर उनको त्यो ‘कन्फिडेन्ट’ पत्रकारहरूलाई थर्काउन, मिडियाहरूको मानमर्दन गर्न र जनसाधारणमा आलोचित सरकारका कदमको ढाकछोपमा प्रयोग भइरह्यो । बाँस्कोटालाई धाम दिइरहे, प्रधानमन्त्री केपी ओलीले ।