काठमाडौं – जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महराले रिहा भए लगत्तै बक्तव्य सार्बजनिक गरेका छन् । बलात्कार प्रयासको आरोपमा मुद्दा खेपेका महराले रिहा पछि बक्तव्य मार्फत मुलुकको स्वाधीनताको रक्षाका लागि लाग्ने प्रतिबद्धता गर्दै सबैलाई धन्यबाद दिएका छन् ।
रिहा भएको केही घन्टामा महराले दाङ–२ का सांसदको हैसियतमा वक्तव्य जारी गर्दै भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’
महरा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदमा रोकेको आरोप लगाएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कतिपयले एमसीसी रोकेकै कारण महरालाई फसाइएको दाबीसमेत गरेका थिए ।
त्यही सम्झौतालाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद कायमै छ । प्रधानमन्त्री ओली एमसीसी तत्काल पास गर्नुपर्ने पक्षमा छन् भने केही नेताहरु यथास्थितिमा पास गर्न नसकिने पक्षमा छन् । जेलबाट छुटेलगत्तै महराले ‘स्वाधीनताको रक्षा पहिलो प्राथमिकता भनेर एमसीसीतिर संकेत गरेको हुनसक्ने कतिपयको अनुमान छ । यद्यपि महराले वक्तव्यमा केही उल्लेख गरेका छैनन् ।
महराले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको तर अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको बताएका छन् । साथै उनले आफूप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद भनेका छन् ।








