निर्मला पन्त हत्या प्रकरणमा अन्ततः दिलीप नै दोषी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको हो ।पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्याका आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ ।

भीमदत्त नगरपालिका–२ (कञ्चनपुर) स्थित खोल्टीकी पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको खोला किनारको उखुबारीमा फेला परेको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते विष्ट पक्राउ परेका थिए । तर स्थानीय भीड र विभिन्न गैरसरकारी संस्थानका प्रतिवेदनले विष्ट निर्दोष रहेको दाबी गर्दै फसाउन खोजिएको आरोप लगाएका थिए ।

प्रहरी अनुसन्धानले भने विष्ट नै दोषी भएको निष्कर्ष निकालेको थियो । तर, गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समिति र एआईजी बस्न्यातको आन्तरिक समितिका प्रतिवेदनले विष्टलाई निर्दोष भनेका थिए ।

अवकाशअघि दिलीप पक्राउ गर्ने महानिरीक्षकको प्रयास असफल भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । त्यसअघि उनले सो घटना सुल्झाउन चाहेका थिए । सबै कोणबाट अनुसन्धान गर्दा दिलीपसिंह विष्ट नै अभियुक्त भएको खुलेको भन्दै उनलाई पक्राउ गर्ने उनको तयारी थियो । तर, गृह मन्त्रालय र महान्यायाधिवक्ता अग्नि खरेलले सहमति नदिएपछि उनी पछि हटेका छन् ।

विष्टलाई पक्राउ गरेर मुद्दा चलाउन उनले आफ्नो सचिवालयका केही प्रहरीलाई कञ्चनपुरमा काज खटाएका थिए । तर, पक्राउको अनुमति नआएपछि उनीहरूसमेत फर्किएका छन् । पहिला प्रमाण नष्ट गरेको र वास्तविक अभियुक्त जोगाउन खोजेको भनेर प्रहरीविरुद्ध मुद्दा दायर भइसकेकाले कानुनी रूपमा फेरि दिलीपलाई नै पक्राउ गरेर मुद्दा दायर गर्न नमिल्ने महान्यायाधिवक्ता खरेलको भनाइ थियो । उनले प्रहरीसँग गरेको बयान र घटना प्रकृति ठ्याक्कै मिल्ने भएकाले त्यो नै विष्टविरुद्ध सबैभन्दा ठूलो प्रमाण भएको प्रहरी अधिकारीहरूको भनाइ छ । उनले प्रहरीसामु देबे्र हातले घाँटी अठ्याएर आफूले निर्मलाको हत्या गरेको बताएका थिए । रिपोर्टमा देब्रे हात नै प्रयोग भएको आएको थियो ।

निर्मलाको सुरुवाल फाटेको भनेर उनले बताएका थिए, जुन कुरा प्रहरीको मुचुल्कामा थिएन । तर, निर्मलाकी आमालाई थाहा थियो । निर्मलाको साइकल बिग्रिएपछि बनाइदिने बहानामा आफूले नै खोलापारि लगेर बलात्कार गरेर उखुबारीमा फालेको बताएका थिए । दिलीपको भनाइ र घटनास्थलको अवस्था ठ्याक्कै मिलेको थियो । सोही आधारमा निर्मलाकी आमाले उनी नै अभियुक्त भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यस्तै, त्यो दिन विष्टलाई घटनास्थलनजिकै देखेको भनेर दुई स्थानीयले कागज गरिदिएका छन् ।

घटनापछि तीनजना महिलालाई उनले यौन दुव्र्यवहार गरेको विवरणसमेत प्रहरीले स्थानीयमार्फत संकलन गरिसकेको छ । अर्का एक स्थानीयसँग निर्मलालाई मारेको भनेर स्वीकार गरेको भिडियोसमेत प्रहरीले प्राप्त गरेको छ । त्यस्तै, सिआइबीबाट खटिएका अन्य अनुसन्धान अधिकृतहरूले समेत दिलीप नै अभियुक्त हुने परिस्थिति देखिएको भनेर रिपोर्ट दिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान प्रतिवेदनमा यी सबै विवरण उल्लेख गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।