टिआईएमा गम्भिर समस्या,३० फन्कामा कतार एअरवेजको अबतरण

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि जहाज अवतरणको लागि समस्या परेको छ । उपकरण बिग्रेको भन्दै त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रहेका जहाजहरुलाई आकाशमा होल्ड गराएर राखिएको छ । सो क्रममा कतारको राजधानी दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले २९ फन्को मार्दा समेत अवतरण गर्न सकेको छैन ।एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने उपकरण बिग्रदा थाईल्याण्ड, भुटान, कतार र साउदीअरेबियाबाट आएका जहाजहरु अवतरण गर्न पाएका छैनन् । अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजहरु अवतरण गर्न नपाउँदा जहाज कम्पनीले प्रतिघण्टा १० लाख रुपैयाभन्दा बढि क्षति व्यहोर्नुपर्छ ।

जहाजहरु तीन घण्टादेखि अवतरण गर्न सकेका छैनन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जहाजहरु अवतरणको क्रममा रहेको बताए । क्षेत्रीले विमानस्थलमा के समस्या आएको भनेर बताउन चाहेनन् । यद्यपि एयर ट्राफिक कन्ट्रोलरका अनुसार दुरी मापन गर्ने सम्बन्धी स्याटेलाईटबाट चल्ने उपकरण भिएचएफमा समस्या आएको छ । सो समस्या आउँदा जहाजको मनिटरिङ गर्न सकिदैन ।

अन्तर्राष्ट्रिय जहाजमै जडित यन्त्रद्वारा अवतरण गर्न सक्ने भएपनि विमानस्थलले जोखिम मोल्न चाहेको छैन । तीन घण्टा आकाशमै फन्को मारेको कतार एयरको जहाजलाई कतिबेला अवतरण गराइन्छ भनेर भन्न सकिने अवस्था छैन । काठमाडौं त्रिभुवन विमानस्थलमा हेभी ट्राफिक जाम हुँदा अन्तर्राष्ट्रिउ उडानका जहाजहरु सधैं समस्यामा पर्ने गरेका छन् ।

थाईएयर, कतार एयर र एयर अरेबियाको जहाज अवतरणमा ढिलाई हुँदा नेपालबाट विदेश जाने यात्रु विमानस्थलमा अलपत्र परेका छन् । त्यस्तै कनेक्टिङ् फ्याईट (ट्रान्जिटमा बस्ने यात्रु) भएका यात्रुहरुको फ्लाईट छुटेको छ । आजको घटनाबाट यात्रु तथा जहाजको खर्च बढेको छ ।

अपडेटः ३० औं फन्को मारेपछि कतार एयरको जहाज भर्खरै काठमाडौंंस्थित विमानस्थलमा अवतरण गरेको छ । बिग्रेको उपकरण तत्कालको लागि मर्मत भएपछि जहाजहरु अवतरण सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।