संसदबाटै प्रधानमन्त्री ओलीको राजिनामा माग

काठमाडौं
एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएका छन् । गुठी विधेयक पारित गर्ने साहस नगरेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शून्य समयमा सुवालले ब्रेक्जिटमा आफ्नै सांसदले समर्थन नगरेर बेलायती प्रधानमन्त्रीले राजीनामा दिएको प्रसंग कोट्याएका हुन् ।

‘गुठी विधेयकमा जोताहालाई मोहियानी हक दिएर सम्पदा संरक्षण र संस्कृति संरक्षणको लागि तत्तत् गाउँपालिका र नगरपालिकालाई स्रोत र खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी दिई विधेयक संशोधनसहित पारित गर्न सकिन्थ्यो तर सरकारले साहस गरेन,’ सांसद सुवालले भने, ‘प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने समय लिइसकेपछि सम्बोधनबाट पछाडि हटेर पत्रकार सम्मेलन गर्नुभयो र गुठी विधेयक फिर्ता लिनेतिर जानुभयो । यो घटनाबाट प्रधानमन्त्री ओलीले नैतिक रुपमा राजीनामा दिनुपर्ने स्थिति उत्पन्न भयो । बेलायतका प्रधामनन्त्री मेले ब्रेक्जिटमा आफ्नै पार्टीका सांसहरूले भोट नहालेपछि राजीनामा दिनुपरेको घटनाबाट पाठ सिक्न जरुरी छ ।’

सांसद सुवालले यही स्थितिमा नेकपाका अन्य नेताहरू प्रधानमन्त्री भएपनि समस्या समाधान नहुने टिप्पणी गरे ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।