कोबाट असुरक्षित छन् प्रचण्ड ?

काठमाडौं ।

पूर्वप्रधानमन्त्रीहरूमा सबैभन्दा बढी सुरक्षा सुविधाभोगी हुन्, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी उनको सुरक्षामा ५९ खटिएका छन् । प्रचण्डलाई सरकारले सूचना दियो– तपाई असुरक्षित हुनुहुन्छ । गृह मन्त्रालयको यो रिपोर्टसँगै कारण देखाइयो, नेत्रविक्रम चन्द विप्लव समूह । उक्त दललाई प्रतिबन्ध घोषणा गर्नासाथ प्रचण्डले भनेका थिए,‘विप्लव समूहबाट मलाई असुरक्षा रहेको भनेर सरकारले सूचना दिएको छ, यहाँसम्मकी मार्ने योजना नै बनाइएको रहेछ ।’

यसो हुँदा सरकारलाई प्रतिबन्ध घोषणा गरी कारबाही प्रक्रिया अघि बढाउन सजिलो भएको धेरैको ठम्याई थियो । प्रचण्डले पनि यसमा सहमति दिए ।तर, हालै सार्वजनिक भएको विप्लवको एउटा अन्तरवार्तामा उनले प्रष्ट भनेका छन्,‘नेताहरूलाई मार्ने हाम्रो कुनै योजना छैन, यो फगत हल्ला गरिएको हो ।’तर पनि प्रचण्डको सुरक्षा घेरा बढाइयो, दुई जना त डिएसपी नै खटिएका छन् । त्यसो भए, कोबाट खतरा छ, प्रचण्डलाई ?

एक पूर्वमाओवादी नेता भन्छन्,‘उनी आफ्नै चिन्तन र वैचारिक बन्धनको शिकार भएका छन् । राजनीतिक रूपमा परिवार र भौतिक रूपमा उनले जनयुद्धका नाममा धोका दिएको परिवारबाट खतरामा छन् ।’ति नेता थप प्रस्ट बनाउँदै भन्छन्,‘शान्तिपूर्ण राजनीतिमा नेकपामा आफ्ना परिवारलाई स्थान दिने, नयाँ राजसी शैलीले बाँच्ने, संघीय, प्रदेश र स्थानीय सरकारसम्म परिवारलाई मात्र अवसर दिए । उनीहरूको व्यवहार र विभिन्न विवादीत मान्छेको उठबसले प्रचण्डको राजनीतिलाई धक्का पुगिरहेको छ, त्यो एउटा खतरा भयो ।’

ति नेताले भने जस्तै हाल देखिएका कतिपय विवादमा प्रचण्डपुत्री मेयर रेणु दाहाल, बुहारी खानेपानी मन्त्री बिना मगरको आलोचना भएकै छ । जसको सिधा सम्बन्ध र असर प्रचण्डसँग हुन्छ ।
‘लडाकू र गरिबलाई पीडामा धकेलेर दलाल र पुँजीपतिसँग संगत गर्न पुगेका कारण प्रचण्डलाई ति पीडितबाट खतरा छ’, ति पूर्वमाओवादी भन्छन्,‘विप्लव नेकपाबाट प्रचण्डलाई कुनै पनि खतरा छैन । आम मानिसबाट उनलाई खतरा हो ।’

नेपाली नेतालाई खासगरी अदृश्य शक्तिबाट खतरा हुने गरेको छ । यो, प्रचण्ड आफैंले पनि पटक–पटक स्वीकारेका छन् । उनले बेलामौका भाषणबाजी गर्दा आफूलाई मदन भण्डारीको हालत बनाउने तयारी भएको पनि सुनाउँथे । ‘नाम नतोकौं जसलाई उनले मदन भण्डारी बनाउँछन् भनेर संकेत गर्दै आउँथे अहिले उनीहरूको सबैभन्दा नजिकको बनेका छन्, बाह्य सुरक्षा खतरा छैन’, ति पूर्वमाओवादी नेता थप्छन्,‘अहिलेसम्म न्याय नपाएका वेपत्ता, युद्धको डोभ बोकेका परिवारबाटै उनलाई असुरक्षा हुन सक्छ ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।