चितवन ।
चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए ।
उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् । त्यस वरपरका रुखहरू ढलाएका छन् । ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परेका छन् । घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए ।
बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ ।
चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए । सो छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्ने बारेमा निर्यौक्ल हुने भएकोले तत्काल काम गर्न दिन अनुरोध गरेका थिए ।