को हुन् युनिस अन्सारी ?जो विमानस्थलमा ७ करोड ७६ लाख नक्कली भारु लिन गए

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ भारतीय जाली नोटसहित ६ जना पक्राउ परेसँगै नेपालमा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको सञ्जालको बारेमा खोजी शुरु भएको छ ।कतार एयरवेजबाट नेपाल आएका पाकिस्तानी नागरिकहरु महम्मद अनवर, अख्तर महम्मद र उद्धिन नसिरलाई प्रहरीको विशेष ब्यूरो, विमानस्थल प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले उक्त परिमाणको नक्कली भारुसहित पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई रिसिभ गर्न पुगेका युनुस अन्सारी, सोयल खान र सवारी चालक सुदन रानाभाटलाई पनि पक्राउ गरेको छ ।युनुस यसअघि पनि पटक–पटक पक्राउ परी छुटेका व्यक्ति हुन्। यसअघि उनलाई प्रहरीले २०६५ पुस १८ गते ललितपुरको नख्खुस्थित उनकै घरबाट पक्राउ गरेको थियो । पक्राउ परेको २ वर्षपछि जेलमा रहेका बेला २०६७ फागुन २६ गते सुन्धारास्थित केन्द्रीय कारागारको गेटमै उनीमाथि गोली प्रहार भएको थियो ।

केन्द्रिय कारागारमा सजाय काटिरहेका बेला उनीमाथि भारतीय नागरिक मनमित सिंहले गोली प्रहार गरेका थिए । तर, उनी सकुशल रहेका थिए।३ वर्ष ९ महिना कारागार भुक्तान गरेका अन्सारी दोस्रो पटक २०६६ पुस ७ गते थापाथलीस्थित ब्लू स्टार कम्प्लेक्सबाट २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र ३ किलो ७ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

त्यसपछि पनि उनी जाली नोट कारोबार र अवैध लागूऔषध कारोबारको अभियोगमा फेरि कारागार चलान भए । जेलबाट छुटेपछि अन्सारी जाली नोटको धन्दामा सक्रिय नै रहे ।

त्यसपछि ११ माघ २०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो।त्यतिबेला युनुस जेल सजाय भुक्तान गरी २०७४ चैत २ गते छुटेका थिए ।अहिलेसम्म युनुस चार पटक पक्राउ परिसकेका छन् । यो घटनाले पनि उनी नक्कली भारतीय नोटको कारोबारी रहेको पुष्टि गर्छ ।

युनुस अन्डरवर्ल्ड दन दाउद इब्राहिमका नेपाल एजेन्ट रहेको भन्दै भारतीय गुप्तचर निकायले आरोप लगाउँदै आएको छ । नेपालका क्यासिनोदेखि हाउजिङ हुँदै नेटवर्किङको व्यबसायमा समेत दाउदको लगानी रहेको भारतीय पक्षले आरोप लगाउँदै आएको छ। पाकिस्तानमा बसेर भारतविरोधी काम गर्दै आएका दाउद मुम्बइ विष्फोटका योजनाकार समेत हुन् ।यसअघि नक्कली भारुको कारोबारमा संलग्न रहेको आरोप लगाउँदै सञ्चार उद्यमी जमीम शाहमाथि भारतीय जासुसी संस्थाद्धारा परिचालित समूहले गोली प्रहार गरी हत्या गरेको खुलेको थियो ।

युनुस जेल जानु अघि नेशनल टेलिभिजनका सञ्चालक समेत थिए । पाकिस्तानबाट कतार हुँदै नेपाल ल्याइएको जाली नोटका योजनाकार पनि उनै युनुस रहेको प्रहरीको आशंका छ ।

पछिल्लो समय काठमाडौं प्रहरीले अवैध नेटवर्किङको धन्दामा सक्रिय २० जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । उनीहरु पनि दाउद निकट रहेको प्रहरी स्रोत बताउँछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।