बसमा महिलामाथि वीर्य छ्याप्ने युवक पक्राउ गर्न पोर्नहब र गुगललाई पत्राचार

दीपक खरेल,काठमाण्डौ ।

प्रहरी प्रधान कार्यालयले २०७५ माघ ११ गते एउटा प्रेस विज्ञप्ति जारी गर्‍यो। त्यसमा भनिएको थियो, ‘सार्वजनिक सवारी साधनभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोबारे सर्वसाधारण र सामाजिक सञ्जालबाट अवगत हुन आएकाले सो सम्बन्धमा सम्बन्धित इकाइहरुले सुक्ष्म अनुसन्धान गरिरहेका छन्।’काठमाडौंको सार्वजनिक सवारीसाधन भित्र एक युवकले महिलामाथि गरेको यौन हिंसाबारे सामाजिक सञ्जालबाट दवाबमूलक बहस उठेपछि प्रहरी प्रधान कार्यालयले सो विज्ञप्ति जारी गरेको थियो।

करिब २० सेकेन्डको भिडियोमा युवकले बसको सिटमै हस्तमैथुन गरेको र महिलाको कपालमा वीर्य छ्यापीदिएको देखिएको थियो। देशको राजधानीमा भएको यो कुरुप घटनापछि सार्वजनिक यातायातमा महिला सुरक्षाको विषय गम्भीर बनेको थियो। सामाजिक सञ्जालमा ‘ह्यासट्याग स्टपमास्टरबुसिङ’ ट्रेन्डिङ गर्‍यो।

सामाजिक सञ्जालबाट दवाब तीब्र भएसँगै प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छिटै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो।

अनुसन्धानलाई तीब्रता दिए पनि घटनाको ४ महिना बित्दा समेत प्रहरी दोषीसम्म अझै पुग्न सकिरहेको छैन। युवक को हुन् भन्ने पत्ता लगाउन सकिरहेको छैन।

पीबोएकेटो आइडीबाट अश्लिल हर्कत
महिलाहरुको जाहेरी र भिडियो प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको अपराध अनुसन्धान महाशाखाले भिडियोका आधारमा ढल्कु–लगनखेल रुटमा चल्ने बा २ ख ९३२६ नम्बरको सार्वजनिक बस नियन्त्रणमा लियो। युवकले सो भिडियो पहिला आफ्नो फेसबुक र त्यसपछि क्यानेडियन अश्लिल भिडियो सेयरिङ साइट पोर्नहबमा पोष्ट गरेको पत्ता लगायो।

‘हामीसँग युवाले प्रयोग गरेको फेसबुक आइडी र जिमेल ठेगाना पत्ता लगाएका छौं,’ महानगरीय अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘अब उसको विस्तृत विवरण गुगल, फेसबुक र पोर्नहबले दिनुपर्ने हुन्छ।’

प्रहरीमा वुमन रुम रिलोडेड, सिस्टर हुड नेपाल सहित १७ महिला अधिकारकर्मीले घटनाविरुद्ध ११ माघमा जाहेरी दिएका थिए। प्रहरीले जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

गुगल, फेसबुक र पोर्नहब पुग्यो अनुसन्धान
घटना अनुसन्धान गर्न दवाबमा रहेको महाशाखाले जोहरी परे लगत्तै भिडियो पोष्ट गर्ने आइडी पत्ता लगायो। फेसबुक र पोर्नहबमा एउटै नाम गरेको आइडीबाट भिडियो पोष्ट गरिएको छ। ती युवकले अश्लिल भिडियो फेसबुकमा अपलोड र पोर्नहबमा सेयर गर्न ‘पीबोएकेटो’ नाम गरेको आइडी प्रयोग गरेका छन्।

प्रहरी अनुसन्धान योभन्दा अघि बढ्न तीन कम्पनीबाट ती युवकको थप विवरण आवश्यक देखियो, गुगल, फेसबुक र पोर्नहब। प्रहरीले ती कम्पनीलाई सो आइडीको विस्तृत विवरणका लागि पत्राचार गरेको छ।

महाशाखाको साइबर सेलका प्रहरी निरीक्षक प्रविन ताम्राकारकाअनुसार ती कम्पनीहरुले नेपाल प्रहरीलाई विवरण उपलब्ध गराएका छैनन्।

‘हामीले फेसबुक इन्क, विलो रोड, मेन्लो पार्क कार्यालय भएको फेसबुकलाई डिस्प्याच नम्बर ४४९२ रहेको पत्रमा खुलाएर ती ब्यक्तिका बिषयमा थप विवरण माग गरेका छौं’, उनले भने, ‘गुगल र पोर्नहबलाई पनि पत्राचार गरेका छौं।’

पोर्न हबलाई डिस्प्याच नम्बर ४४९१ र गुगललाई ४४९० राखेर पत्र सम्प्रेषण भएको छ। उनीहरुले जानकारी नपठाउँदा राजधानी काठमाडौंमा भएको एउटा गम्भीर अपराध प्रहरीले सुल्झाउन ढिलाइ भइरहेको हो।

नेपालखबर

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।