प्रहरीको गोलीले विप्लव कार्यकर्ता मारिए

File Photo

भोजपुर । प्रहरीको गोली लागेर घाइते भएका विप्लव कार्यकर्ताको ज्यान गएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरेको तिघ्रामा गोली लागेको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल पुर्‍याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाई छ । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूहले आफ्नो कार्यकर्तालाई नियन्त्रणमा लिएर मारेको दाबी गर्दै आएको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।