जनैसमेत चाइनाबाट ल्याउनुपर्नेहरुले रेल र पानीजहाज देखाएर समृद्धिको गफ दिने ?

१९ बैशाख काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले रेल र पानीजहाज चलाउँदैमा समृद्धि नआउने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँगको सम्वादमा अध्यक्ष केसीले रेमिट्यान्सले धानेको देशमा रेल र पानीजहाजले समृद्धि नआउने जिकिर गरे। हिमालबाहेक सबै भूभागमा सहजै फल्ने खुर्सानी उमार्न छोडेको र जनैसमेत विदेशबाट ल्याइरहेको परिवेशमा विकास र समृद्धि गर्छु भन्नु गफ मात्रै भएको उनको भनाई छ।

‘खुर्सानी नेपालको हिमालबाहेक अन्य सबै ठाउँमा फल्छ। खुसार्नीको एउटो ढिँडीसम्म आत्मनिर्भर नहुने हामी, नेपालीहरुले लाउने जनै तिब्बतीहरुले पठाए। दुई करोड जनै आयो, हेर्नुस् त हाम्रो हविगत। कुराले विकास हुन्छ? नीति हुनुपर्यो। कडाईका साथ कार्यान्वयन हुनुपर्यो’, उनले भने।

केसीले थपे, ‘यहाँ उत्पादन गर्ने म्यानपावर १२/१५ वर्ष पुग्दा निर्यात गरिदिने र अरु सम्पूर्ण कुरा बाहिरबाट ल्याउनुहुन्छ भने यो देशको अस्तित्व कसरी रहन्छ? खर्बौको आयात गर्नुपर्छ। मान्छे निर्यात गर्ने। उद्योगधन्दा कलकारखाना खोल्नुपर्दैन?’
उद्योगधन्दा, रोजगारी र स्वदेशी उत्पादन नभएसम्म देश विकास नहुने उनको भनाई छ।अहिले पनि नेपालीका छोराछोरी १५ सय देखि २ हजारको हाराहारीमा दैनिक रुपमा बाहिर गइरहेको भन्दै केसीले विकास गर्न उद्योगधन्दा, कलकारखाना र जनशक्ति चाहिने दोहोर्याए। ‘अहिले गाउँमा खेत बाँझो, सिस्नु उम्रेको छ। घरभित्र बुढाबुढी मात्रै छन्। छोरा नाती कोही छैनन्। जन्त र मलामी जाने मान्छे छैन्। ७५ प्रतिशत महिला हुन्छन जन्त र मलामी जाने। यही हो विकास र परिवर्तन?’ उनले प्रश्न गरे।

स्कुलमा पढ्ने बच्चा ७ क्लास पुग्दा हलो जोत्न छोड्ने, १० मा पढ्दा गाउँ र १२ पास गरेर देश नै छोड्ने परिपाटी विकास भइरहेको भन्दै केसीले यसलाई नरोकेसम्म विकास र समृद्धि नआउने ठोकुवा गरे।

‘राजा, मन्त्री र सारा बस्ने काठमाडौंजस्तो ठाउँमा मेलम्चीको पानी ल्याउन लागेको कति भयो? कति नेताहरुले ठेकेदारबाट पैसा खाएर घरगाडी जोडे? आज यतिका वर्ष वित्दा काठमाडौंका जनतालाई माछो माछो भ्यागुतो बनाएर बनाएर यो दुर्दशा छ। अझ बाहिर हुम्ला, जुम्लाजस्ता विकट जनता कसरी बाँचेका होलान?’ उनले चिन्ता व्यक्त गरे।

नेता केसीले संघीयताको भविष्य नरहेको टिप्पणी गरे। संघीयता स्वीकारेका नेताहरुको मन अझै पनि स्पष्ट नभएको र कार्यान्वयनमा अप्ठेरो रहेको उनले सुनाए। ‘लागु भएको भरमा ठिक हुन्छ? प्रदेश र केन्द्रको हालत हेर्नुस्। सबभन्दा घाडो प्रदेश भएको छ। न्वारनमा समेत समस्या भएको छ। संघीयता कार्यान्वयन महाभारत भइरहेको छ।’

उनले संघीयताका कारण राष्ट्र टुक्रिने खतरा अझै पनि रहेको बताए। उनले प्रदेशको औचित्य नभएको र स्थानीय तहले सबै काम गर्ने धारणा राखे।

अर्काे प्रसंगमा नेता केसीले राणा, पञ्चायत र राजा फाले पनि प्रवृत्ति पुरानै हुँदा परिवर्तनको आभाष हुन नसकेको बताए। आफू, परिवार र गुटलाई केन्द्रमा राखेर राजनीति गर्दा देश जहाँको त्यही रहेको र नेताहरु विलासी भएको उनको टिप्पणी छ। ‘मात्रात्मक परिवर्तन भयो, गुणात्मक परिवर्तन भएमात्र देश विकास हुन्छ’, उनले भने।

अध्यक्ष केसीले वशंजलाई नागरिकता दिने केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचनासमेत गरे। ‘हिजो टुँडिखेलमा भारतीय ट्रकमा ढुंगा हान्ने, सिनेमा रोक्नेहरु आज संसदमा विधेयकमाथि छलफल भइरहँदा वशंज नागरिकता दिने भनेर सर्कुलर गर्छन। के यही हो परिवर्तन, यसकै लागि हो सुरुङ युद्ध?’ उनले प्रश्न गरे।
-नागरिक न्युज

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।